you-price-design.jpg

वाम एकता ९५ प्रतिशत मिल्यो, ओलीको प्रधानमन्त्री प्रस्तावक माधव नेपाल

  • २०७४ फाल्गुन ३ गते , विहीवार प्रकाशित

 काठमाडाैं । राजधानीबाट आज प्रकाशित प्रमुख राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो पृष्ठ राजनीति र खेलकुद विषयले भरिएका छन् । तथापि भित्री पृष्ठमा पत्रपत्रिकाहरुले आर्थिक, सामाजिक, स्वास्थ्यलगायतका विषय पनि उठाएका छन् । एमाले–माओवादी पार्टी एकता प्रक्रियामा भएको प्रगतिलाई आजका सबैजसो दैनिक पत्रिकाहरुले विविध शीर्षकमा लेखेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टी एकतापछि आलोपालो अध्यक्ष र प्रधानमन्त्री हुने सबैजसो दैनिक पत्रिकाहरुको समाचारको सार छ । क्यानडामाथि अन्तिम बलमा १ विकेटको सनसनीपूर्ण जित हात पार्दै नेपाल विश्वकप छनोटमा पुगेको खबरलाई आजका सबै दैनिक पत्रिकाहरुले पहिलोपृष्ठमा ठाउँ दिएका छन् । यसमध्ये केही पत्रिकाले यसलाई मुख्य समाचार नै बनाएका छन् ।निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणालीको अन्तिम परिणामसहितको प्रतिवेदन राष्टपति विद्यादेवी भण्डारीलाई बुझाएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको छ । आजको दैनिक पत्रिकाहरुको प्राथमिकतामा यो विषय पनि उत्तिकै परेको छ । पत्रपत्रिकाहरुले सरकार निर्माणको बाटो खुलेको र वाम गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको लेखेका छन् । ‘निर्वाचन आयोगले परिणाम राष्ट्रपतिलाई बुझाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा राजीनामाको तयारीमा छन् भने एमाले अध्यक्ष ओली भावी प्रधानमन्त्री बन्ने तरखरमा छन्’, आजका पत्रपत्रिकाहरुले समाचारमा छापेका छन् । आजका पत्रपत्रिकाहरुले प्रदेशमा सुरु भएको सरकार गठन प्रक्रियालाई पनि नियालेका छन् । बुधबार प्रदेश १, २ र ३ मा मुख्यमन्त्री नियुक्त भएको समाचार लेखेका पत्रपत्रिकाहरुले बाँकी प्रदेशमा पनि सरकार गठनका लागि पहल भइरहेको जनाएका छन् । यसका अतिरिक्त काठमाडौं भूकम्पको थप जोखिममा परेको, कर्मचारीकै मिलेमतोमा बैंक ठगी भएको, नवराज सिलवाल अब फरार अभियुक्तमा दरिएकोलगायत समाचार पनि पत्रपत्रिकाहरुको पहिलो पृष्ठमा अटाएको छ । एमाले–माओवादी एकताः ९५ प्रतिशत मिल्यो, ५ प्रतिशत बाँकी ‘विश्वकपतर्फ नेपालको यात्रा’ शीर्षकमा मुख्य समाचार लेखेको नयाँ पत्रिका दैनिकले दुवै पार्टीका अध्यक्ष आलोपालो नयाँ पार्टीको अध्यक्ष र प्रधानमन्त्री हुने लेखेको छ । दुई नेताका समझदारीलाई औपचारिकता दिने गृहकार्यमा एकता संयोजन समिति लागेको समाचारमा उल्लेख छ । ‘एमाले–माओवादी केन्द्रबीच एकीकरण गर्न गठित पार्टी एकता संयोजन समितिको एकीकृत पार्टीमा केपी ओली र प्रचण्डको संयुक्त नेतृत्व रहने मोडालिटी टुंगो लगाएको छ’, नयाँ पत्रिकाको समाचारमा लेखिएको छ, ‘दुवै अध्यक्षले बैठकको अध्यक्षता र सरकारको नेतृत्व आलोपालो गर्ने मोडालिटी तय भएको छ ।’ नयाँ पत्रिकाका अनुसार आलोपालोको विषय टुंगिए पनि अवधिको विषय टुंगिन बाँकी छ । यद्यपि, राजधानी दैनिकले भने फरक दलिल पेस गरेको छ । राजधानीका अनुसार एमाले र माओवादी केन्द्रबचि एकता गर्न बनेको संयोजन समिति बैठक सहमतिनजिक पुगेको तर सरकारको नेतृत्व कसले कति गर्ने भन्ने विषय टुंगिन बाँकी छ । समाचार अनुसार बुधबार बसेको संयोजन समितिको बैठकमा कार्यदलका सदस्य चयन र दुई अध्यक्ष कसले कति सरकारको नेतृत्व गर्ने भन्ने विषयमा सहमति जुटाउने प्रयास सफल भएन । ओलीलाई प्रधानमन्त्री बनाउन माधव नेपाल प्रस्तावक अन्नपूर्ण पोस्ट दैनिकका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न एमाले नेता माधव कुमार नेपालले प्रस्ताव गर्ने छन् । वाम गठबन्धनले बिहीबार नै राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्ने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा बुधबार राति राष्ट्रपतिलाई बुझाएसँगै वाम गठबन्धनले सरकार गठनका लागि आफूसँग स्पष्ट बहुमत रहेको भन्दै राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदमा दाबी गर्न लागेको हो । एमाले र माओवादीबीच पार्टी एकतासँगै पहिलो तीन वर्ष ओली र त्यसपछिको दुई वर्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएको अन्नपूर्ण पोस्टले लेखेको छ। सिलवाल फरार अभियुक्तको सूचीमा, सांसद पद के हुन्छ ? नयाँ पत्रिका दैनिकले एमाले सांसद तथा नेपाल प्रहरीका पूर्व डीअार्इजी नवराज सिलवाल फरार अभियुक्तको सूचीमा दर्ज भएको समाचार लेखेको छ । मुद्दा पेस भएसँगै सिलवाल कानुनी रूपमा फरार अभियुक्त करार भएको समाचारमा उल्लेख छ । महान्यायाधिवक्ता वसन्तराम भण्डारीले सिलवालविरुद्धको किर्ते मुद्दा सरकारी वकिल कार्यालयमा पेस गरेका हुन् । अधिवक्ता भाइराज राईले नयाँ पत्रिकासँग मुद्दा सरकारी अदालतमा पेस भएलगत्तै सिलवाल कानुनी रूपमा फरार अभियुक्त करार भएको बताएका छन् । तर, उनको सांसद पद भने तत्कालका लागि निलम्बनमा पर्दैन । सरकारी वकिल कार्यालयले प्रहरीले पेस गरेको मुद्दा अध्ययन गर्छ । अध्ययनपछि अभियोग दर्ता गर्न मिल्ने हो या होइन, टुंगो लाग्छ । अभियोग दर्ता हुन योग्य ठहरिए सरकारी वकिल कार्यालयले बहसका लागि मुद्दा अदालतमा दर्ता गर्छ । दर्ता गर्न योग्य ठहरिएन भने मुद्दा मुल्तबीमा रहनेछ । अदालतमा मुद्दा पेस भएपछि बहस हुनेछ । अदालतले फरार अभियुक्तलाई बयानका लागि ७० दिनको म्याद दिनेछ । ७० दिनभित्र बयानका लागि फरार अभियुक्त अदालतमा हाजिर नभए मुद्दा कमजोर भएको ठहरिनेछ । त्यसपछि न्यायाधीशले फरार अभियुक्तविरुद्ध आवश्यक दण्ड–जरिवानासहित मुद्दाको फैसला गर्नेछन् । पूर्वराष्ट्रपतिलाई एउटा गाडीले पुगेन, ४० लाखको स्कारपियो खरिद गरिँदै अन्नपूर्ण पोस्ट दैनिकले सरकारले पूर्वराष्ट्रपति डा. रामवरण यादवका लागि ४० लाखमा अर्को नयाँ गाडी किन्ने गृहकार्य अघि बढाएको समाचार लेखेको छ । राष्ट्रपति कार्यालयले पूर्वराष्ट्रपति यादवलाई एउटा नयाँ गाडी यसअघि नै उपलब्ध गराएको थियो । तर उनलाई पुनः अर्को गाडी आवश्यक परेको भन्दै गृह मन्त्रालयले ४० लाखमा स्कारपियो गाडी खरिद प्रक्रिया अघि बढाएको हो । अब पूर्वराष्ट्रपति यादवले दुईवटा गाडी प्रयोग गर्ने भएका छन् । गृह मन्त्रालय सवारी शाखाका उपसचिव यदुनाथ पौडेलले सरकारले पूर्वराष्ट्रपति यादवलाई थप अर्को एक गाडी दिने निर्णय गरेकाले उनका लागि गाडी खरिद प्रक्रिया अगाडि बढाइएको अन्नपूर्णसँग बताएका छन् । काठमाडौंमा ७.८ रेक्टरको भूकम्प गए दोब्बर क्षति कारोबार दैनिकका अनुसार तीन वर्षअघि गोर्खा केन्द्रबिन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्प दोहोरिए राजधानी काठमाडौंमा मात्रै ७ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको क्षति हुने अध्ययनले देखाएको छ । यस्तो भूकम्पले २२ हजारभन्दा बढी मानवीय क्षति हुने सरकारी अध्ययनको दाबी छ । सहरी विकास मन्त्रालय अन्तर्गतको भूकम्प विपद् जोखिम मूल्यांकन परियोजनाले जापानी सहयोग नियोग –जाइका) सँग मिलेर गरेको अध्ययन प्रतिवेदनले मध्य नेपालको दक्षिण भागलाई केन्द्रविन्दु बनाएर भूकम्प गए काठमाडौं उपत्यकामा मात्रै २२ हजार १ सय ८० जनाको ज्यान जाने देखाएको समाचारमा उल्लेख छ । तीन वर्ष लगाएर गरिएको अध्ययनअनुसार यो क्षमताको भूकम्प दोहोरिए काठमाडौं उपत्यकामा ८६ हजार ८ सय ६० जना घाइते तथा ११ लाख ९६ हजार विस्थापित हुने उल्लेख छ । मेडिकल शिक्षाः बाहिरियो २२ अर्ब मेडिकल शिक्षा अध्ययनका लागि पछिल्ला पाँच वर्षमा मुलुकबाट २२ अर्ब रुपैयाँ बिदेसिएको छ । स्वदेशी मेडिकल कलेजमा अध्ययन गर्न पर्याप्त सिट नभएपछि विदेशी मेडिकल कलेज तथा शैक्षिक संस्थामा भर्ना भएका विद्यार्थीबाट उक्त रकम बाहिरिएको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । सरकारी तथ्यांकअनुसार मुलुकबाट पछिल्ला पाँच वर्षमा चार हजार तीन सय ४६ जना विद्यार्थी एमबीबीएस तथा बीडीएस अध्ययनका लागि विदेश गएका छन् । शिक्षा मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार बिदेसिएका एक विद्यार्थीले ५० लाख रुपैयाँ खर्च गर्छन् । प्रेम दिवसमा हात्तीको वनभोज संसारभर बुधबार प्रमी–प्रेमिकाले माया साटासाट गरी मनाएको प्रेम दिवस चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा भने भिन्न तरिकाले मनाइएको छ । स्थानीय पर्यटन व्यवसायीहरुको अग्रसरतामा हात्तीलाई वनभोज खुवाएर प्रेम दिवस मनाइएकोलाई आज कारोबारले एंकर बनाएको छ । सौराहमा अहिले खाना महोत्सव चलिरहेको भने सोही क्रममा पर्यटकलाई सेवा दिने हात्तीलाई पनि वनभोज खुवाइएको हो ।

Leave a Comment