you-price-design.jpg

डा. गोविन्द केसीलाई तारेखमा रिहा गर्न सर्वोच्चको आदेश

  • २०७४ पौष २६ गते , बुधवार प्रकाशित

अदालतको अवहेलना मुद्दामा प्रा. डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको छ । केसीको स्वास्थ्य अवस्था समेतलाई विचार गर्दापछि बुझ्दै जाँदा ठहरे बमोजिम सजाय हुने गरी हाललाई साधारण तारेखमा छोड्न सर्वोच्चले आदेश दिएको हो । डा. केसीका कानुन व्यवसायी डा. सुरेन्द्र भण्डारीको जिम्मा छोडी बाँकी कारबाही गर्नु भन्ने कुरा आदेशमा उल्लेख गरिएको छ । अवहेलना मुद्दामा सर्वोच्च अदालतको पक्षबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, श्याम खरेल, माधवकुमार बस्नेतले बहस गरे। यता डा. केसीको पक्षमा वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, कृष्णप्रसाद भण्डारी, सुरेन्द्र भण्डारी, गोपाल सिवाकोटीलगायतले बहस गरेका थिए। अदालतको अवहेलना गरेको भन्दै प्रहरीले डा. केसीलाई त्रिवि शिक्षण अस्प्ताल महाराजगञ्जबाट सोमबार राति पक्राउ गरेको थियो। अवहेलना मुद्दामा सर्वोच्च अदालतको आदेशपछि केसीलाई प्रहरीले अनसनस्थलबाटै सोमबार राति पक्राउ गरेको हो। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ औँ अनसन बसेका डा केसीलाई अनसनस्थल त्रिवि शिक्षण अस्पतालबाट महानगरीय प्रहरी परिष्र काठमाडौंको टोलीले पक्राउ गरेको थियो । डा केसीलाई सोमबार राति महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको थियो। मंगलबार बिहान ९ बजे केसीलाई अदालतमा उपस्थित गराइएको थियो। सर्वोच्च अदालतमा मंगलबार सुनुवाइ भएपछि बुधबार दिनभर बहस भएपछि उनको मुद्दाको फैसला भएको हो। न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले आजै सोमबार अवहेलनाको मुद्दामा डा केसीलाई मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश जारी गरेको थियो।प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै सोमबार अनशन बसेकै दिन केसीलाई पक्रन सर्वोच्चले आदेश दिएको थियो। प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायलयविरुद्ध गम्भीर लान्छना लगाएको अभियोगमा सर्वोच्च अदालतले आदेश दिए लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।  

Leave a Comment