you-price-design.jpg

कुश्मा नगरको शैक्षिक सुधार गर्न १५ बुँदे प्रतिबद्धता

  • २०७४ पौष ३ गते , सोमवार प्रकाशित

 साजन परियार, पर्वत ,
कुश्मा नगरपालिका भित्रका विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धिका लागि १५ बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीहरुको संख्या बढाउन र अभिभावकहरुको विश्वास बढाउन कुश्मा नगरपालिकाको शिक्षा शाखाले प्रधानाध्यपकहरुको बैठक मार्फत शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न निर्णयहरु गरेको हो । सबै विद्यालयमा गरिएका असल अभ्यासको आदान प्रदान गर्ने, नगरपालिका भित्रका शिक्षकहरु मध्येबाट टिम सुपर भिजनका लागि नेपाली, अंग्रेजी, विज्ञान, सामाजिक र गणित विषयका विषयगत समितिहरु गठन गरी प्राविधिक आदान प्रदान तथा शिक्षण अनुगमन गराउने, कक्षा ८ को वार्षिक परीक्षा नगरस्तरीय रुपमा सम्पन्न गर्नका लागि स्थानीय शिक्षा अधिकारी राजेन्द्रबहादुर क्षत्रीको अध्यक्षतामा ७ सदस्यीय परीक्षा समिति गठन गर्ने वैठकले निर्णय गरेको छ । त्यस्तै विद्यालय तथ्यांक इ एम आइ एस. अपडेट, विज्ञान प्रयोगशाला, पुस्तकालयको अवस्थामा अझ सुधार र प्रयोगमा जोड दिने, विद्यार्थी छात्रवृत्ति नयाँ भर्ना रेकर्डका आधारमा प्रदान गर्ने, विद्यार्थी अनुपस्थितिको कैफियत जनाउने, सामाजिक परीक्षण लेखा परीक्षण समयमा सम्पन्न गरी सो को विवरण र जानाकारी स्थानीय शिक्षा शाखामा जानाकारी दिने पनि बैठकले निर्णय गरेको छ । नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा शिक्षक नियुक्ति अनुमति, सरुवा सहमती समेत नगरपालिका स्वयंले गर्ने जानाकारी गराइएको छ । नगरस्तरीय आधारभूत तहका शिक्षकहरुको हाजिरीजवाफ लगायत अतिरिक्त क्रियाकलापहरु गर्ने प्रधानाध्यापकहरुको बैठकमा निर्णय भएको छ । नगरपालिकाका शिक्षा शाखा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीका अनुसार दोस्रो चौमासकि अनुदान मागफाराम यही पौष मसान्त भित्र स्रोतकेन्द्रमा बुझाउने, २०७४ माघमा प्रधानाध्यापकहरुको अवलोकन भ्रमण हुने, नगरपालिकाका २२ बुँदे घोषणाको मर्म अनुरुप विद्यालयका गतिविधि सञ्चालन गर्ने पनि उक्त बैठकको निर्णय रहेको छ ।

Leave a Comment