you-price-design.jpg

पर्बतमा मातृ तथा नवजात शिशु मृत्युदर शून्य

  • २०७४ असार २२ गते , विहीवार प्रकाशित

 सुबास लामिछाने, पर्वत
बिगत केहि बर्ष यता पर्बतमा मातृ तथा नबजात शिशु मुत्युदर शुन्यमा झरेको छ ।सरकारले स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालेपछि पर्बतमा मातृ तथा नवजात शिशु मृत्युदर शून्यमा झरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्बतका अनुसार आर्थिक वर्ष ०७२/७३ मा पर्बतमा सुत्केरी गराउने क्रममा कुनै पनि आमा र नवजात शिशुको मृत्यु भएको छैन । स्वास्थ्य संस्थामा गएर नियमित गर्भवती जाँच गराउने र स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउने महिलाको सङ्ख्या बढेका कारण मातृ मृत्युदरमा उल्लेख्य कमी आएको जिल्ला जनस्वास्थ्य कार्यालयका पर्बतका सुरक्षित मातृत्व फाँटका प्रमुख सिमा पुनले जानकारी दिनुभयो । अघिल्लो आव ०७०/७१ मा पनि प्रसूति गराउने क्रममा कुनै पनि आमाको मृत्यु भएको थिएन । यस्तै आव ०७२ /७३ मा जिल्लामा कुनै पनि नवजात शिशुको मृत्यु भएको सूचना नआएको उहाले बताउनुभयो । मातृ मृत्युदर र नवजात शिशु मृत्युदरमा कमी ल्याउन प्रोत्साहन कार्यक्रम सञ्चालन भएको र सर्वसाधारणमा चेतनाको विकास र स्बास्थ संस्थामा गएर गर्भवती जाँच गराउनु पर्छ भन्ने बिश्वास बढेको कारण नवजात शिशु मृत्युदरमा कमी आएको जिल्ला स्वास्थ्य कार्यालय पर्बतका निमित्त प्रमुख डा सरोज दहालको भनाइ छ । गत आव ०६८/६९ मा भने पर्बतमा १ जना नवजात िशशुको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएपनि त्यस यता अहिले सम्म कुनै नबजात शिशुको मृत्यु भएको छैन । सरकारले स्वास्थ्य संस्थामा गएर प्रसूति गराउने महिलालाई प्रोत्साहनस्वरुप नगद र न्यानो लुगा दिन थालेपछि पर्बतमा स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउनेको सङ्ख्या समेत बढेको कार्यालयले जनाएको छ । आव ०७२/ ७३ मा स्वास्थ्य संस्थामा गएर दक्ष प्रसूतिकर्मीबाट सुत्केरी गराउने महिलाको सङ्ख्या ५ सय ४८ पुगेको छ । यस्तै आव ०७२/७३ मा स्वास्थ्य संस्थामा गएर पहिलोपटक गर्भवती जाँच गराउने महिलाको सङ्ख्या शत्प्रतिशत रहे पनि नियमित चारपटकसम्म स्वास्थ्य संस्थामा गर्भवती जाँच गराउने महिलाको सङ्ख्या भने बृद्धि भएको पाईउको छ ।

Leave a Comment