you-price-design.jpg

यस्तो छ राष्ट्रिय कविता,आँधीको यात्रा...

  • २०७४ असार १२ गते , सोमवार प्रकाशित

 आँधीको यात्रा... –
चन्द्र रानाहँछा हातमा सपनाको फूल  र पाउमा घामको साइत बोकेर  पर्खिरहेछु आँधीको यात्रा...। 
सखारैदेखि  मेरो विदाइमा गाइरहेछन् चराहरु  सुसाइरहेछ खोला भुर्भुराइरहेछ आगो...। 
मलाई लिन  अँध्याराका सहश्र बाँधहरु भत्काउँदै आउनेछ आँधी ।  कतै अल्मिलिएला भनी बाटो देखाउन मुस्कुराउँदै उदाउनेछ जून  । म हिँडेपछि– गृहकार्य गरिरहेकी छोरीलाई सोध्नेछन् अक्षरहरुले  जीवनको सौन्दर्य ।  एक्लै खेलिरहेको छोरालाई  टक्क रोकिएर बतासले  सोध्नेछ समय । साँझपख  आँशु पुछिरहेकी मेरी प्रियतमालाई  जलिरहेको मैनबत्तीले  बुझाउनेछ प्रेमको अर्थ । जुनबेला म– गर्जिरहेको मेघ र रिसाइरहेको चट्याङ्लाई सम्झाउन  सद्भावको गीत गाउँदै  छोइसक्नेछु आकाशलाई ।  काँप्नै लागेको भूकम्प र खस्दै गरेको पहिरोलाई छेक्न  उज्यालोको लौरो टेक्दै  पुगिसक्नेछु क्षितिजमा । मसँग– मेरो हत्केला जो छ  मुठी कस्दा  पृथ्वी बन्छ  मुठी खोल्दा आकाश बन्छ । आमा ! यै हत्केलामा कोरिएको बाटोले डोर्‍याउँदै एकदिन – ल्याइपुर्‍याउनेछ मलाई तिम्रो काखमा । 

Leave a Comment