you-price-design.jpg

स्वरोजगार वृद्धि गर्ने भन्दै पर्वतमा २ सय ५० जनशक्ति तयार पारियो

  • २०७४ असार १२ गते , सोमवार प्रकाशित

विशन क्षेत्री

 पर्वत । स्वरोजगार वृद्धि गर्ने उद्देश्यले घरेलु तथा साना उद्योग विकास समिति, पर्वतले खुला र समावेशी समूहका गरी २ सय ५० जनालाई विभिन्न प्रकारका तालीम दिएको छ । जिल्लाको स्थानीय तहमा उपलब्ध प्राकृतिक स्रोतसाधन उपयोग हुने किसिमको तालीम दिइएको कार्यालयका निमित्त प्रमुख टेकनाथ पराजुलीले बताए । कार्यालयले वस्तु विकास कार्यक्रम, भूकम्प प्रभावित क्षेत्र कार्यक्रम, भगत सर्वजित कार्यक्रम र नियमित कार्यक्रम शीर्षकमा रहेका तालीम प्रदान गरेको उनले जानकारी दिए । वस्तु विकास कार्यक्रमअन्तर्गत कार्यालयले बुधवार मोदी गाउँपालिका–४ क्याङमा अल्लो प्रशोधन तालीम सम्पन्न गरेको छ । यस क्षेत्रमा प्रशस्त मात्रामा अल्लो पाइन्छ । अल्लो प्रशोधन, विभिन्न सामग्रीको उत्पादन र विक्रीवितरणबाट आयआर्जन बढाउन सकिने पराजुलीले बताए । आर्थिक उपार्जनसँगै  आत्मनिर्भरता र स्वरोजगारी पनि बढ्ने विश्वास उनले व्यक्त गरे । यसका लागि अल्लो व्यवसायी जसमाया पुनले २४ जना सहभागीलाई २ महीनासम्म प्रशिक्षण दिएकी थिइन् । त्यसैगरी, कार्यालयले भूकम्पप्रभावित क्षेत्र कार्यक्रमअन्तर्गत त्रिवेणीमा २० जनालाई प्लम्बिङ तालीम दिएको छ भने रानीपानी र तिलाहारमा २०÷२० जना तथा ठूलीपोखरीमा १६ जनालाई डकर्मी तालीमसमेत प्रदान गरेको छ । ४५ दिने यी तालीम सम्पन्न भइसकेको निमित्त प्रमुख पराजुलीले बताए । तालीममा सहभागीहरूलाई ८० प्रतिशत अनुदानमा मेशिनरी सामग्री पनि वितरण गरिएको जानकारी उनले दिए । दलित समुदाय लक्षित भगत सर्वजित कार्यक्रमअन्तर्गत कार्यालयले जिल्लाका आठ स्थानमा ९१ जनालाई तालीम दिएको छ । दलित उत्थान गर्न तथा उद्यमी बन्न प्रेरित गर्ने उद्देश्यले कार्यालयले हुवास, शङ्करपोखरी, बाजुङ, माझफाँटका ५० जनालाई सिलाइ तालीम प्रदान गरेको छ । त्यस्तै, खौलालाकुरी, बर्राचौर र मुडिकुवामा ३६ जनाले बुटिक तालीम लिइरहेका छन् । साथै, पाङमा पाँचजनालाई हाउस वायरिङ तालीम दिइएको कार्यालयले बताएको छ ।कार्यालयको नियमित कार्यक्रमअन्तर्गतको उद्योग विकास कार्यक्रमअन्तर्गत बेउलीवासमा वायरिङ र शालिजामा अल्लो प्रशोधन तालीम दिइएको पराजुलीले बताए । यी दुवै तालीममा गरी २४ जना सहभागी थिए । माझफाँटमा बुटिक र भोक्सिङमा ढाका कपडा बुनाइसम्बन्धी तालीम २४ जनाले लिएको उनको भनाइ छ । कुश्मामा भने ११ जनालाई मोबाइल मर्मत तालीम सञ्चालन गरिएको छ । अल्लो प्रशोधन तालीमका रू. १० लाख ३५ हजार बजेट विनियोजन भएको पराजुलीले जानकारी दिए । यसबाहेक अन्य शीप विकास तालीमका लागि भने २२ लाख ९५ हजार बजेट छुट्ट्याइएको उनले बताए । तालीममा अन्य जिल्लाबाट समेत प्रशिक्षार्थी आउने गरेका छन् ।

Leave a Comment