you-price-design.jpg

दक्षिण एसियाली योगा च्याम्पियनसिपमा नेपाल दोश्रो

  • २०७४ बैशाख २६ गते , मंगलवार प्रकाशित

प्रथम दक्षिण एसियाली योगा च्याम्पियनसिपमा नेपाल दोश्रो भएको छ। नेपाल कूल २६ अंकसहित उपविजेता बनेको हो। पहिलो भएको भारतले ५९ अंक बटुल्यो भने तेश्रो स्थानमा चित्त बुझाएको बंगलादेशले ५ अंक प्राप्त गर्यो।
नेपाल योग खेलकुद संघद्वारा सोमबार आयोजित प्रतियोगिताको ८–१२ वर्ष उमेरसमूह अन्तर्गत महिला टिममा भारत पहिलो र नेपाल दोश्रो भयो। ८–१२ वर्षको महिला व्यक्तिगतमा भारतकी स्देहना पुरकैत पहिलो, भारतकै कादम्भोरी उपाध्याय दोश्रो तथा नेपालका मनीषा गुरुङ र पुष्पा विके तेश्रो भए।
८–१२ वर्षको पुरुष व्यक्तिगतमा बंगलादेशका रोहन तस्रिकले स्वर्ण, नेपालका बुद्ध तामाङले रजत तथा नेपालका निकेश ज्योति र आशिष मर्सानीले कांस्य जिते। ८–१२ वर्षको पुरुष टिममा भारत पहिलो भयो भने दोश्रो र स्थानमा नेपाल रहयो।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताअन्तर्गत १२–१४ वर्षको पुरुष व्यक्तिगतमा भारतका संकल्प मइतीले स्वर्ण, भारतका सिद्धार्थ दाहारिया दोश्रो तथा भारतका अभि गुप्ता र नेपालका छिरिङ लामा तेश्रो भए। १२–१४ वर्षको महिला व्यक्तिगतमा भारतकी चन्दाश्री साहु पहिलो, भारतकी अंकिता दास दोश्रो तथा भारतकी पद्यमाश्री मोहन्ती र बंगलादेशका रुफइदा ताजमिम तेश्रो स्थानमा रहे। १२–१४ वर्षको महिला टिममा भारतले शीर्ष स्थान कब्जा गर्यो भने नेपालले दोश्रो स्थान हात पार्यो।

१४–१८ वर्षको पुरुष व्यक्तिगतमा भारतका अयान दास पहिलो, नेपालका रोशन खनाल दोश्रो र नेपालका धनप्रसाद तेश्रो भए। १४–१८ वर्षको पुरुष टिममा भारतले पहिलो र दोश्रो स्थान प्राप्त गर्यो भने नेपालले तेश्रो स्थानमा चित्त बुझायो। १४–१८ वर्षको महिला व्यक्तिगत स्पर्धामा भारतका खेलाडीले शीर्ष तीन स्थानको उपाधि हात पारे। अनुप्रभा दास पहिलो, प्रिया जन दोश्रो तथा तान्या चोधन र आचल शर्मा तेश्रो भए। १४–१८ वर्षको महिला टिममा भारतले स्वर्ण तथा नेपालले रजत हात पारे।

१८ वर्षमाथि पुरुष व्यक्तिगतमा भारतका इन्द्रजीत रोय पहिलो, भारतकै रविन्द्र माली र भारतका आयुश वर्मा तेश्रो भए। १८ वर्षमाथि पुरुष टिममा भारत पहिलो र नेपाल दोश्रो भयो। १८ वर्षमाथि महिला व्यक्तिगत इभेन्टमा भारतकी सोनिया कमिला पहिलो, भारतकी निशा भास्वानी दोश्रो तथा बंगलादेशकी फर्दुसी अक्तर औपी र भारतकी सपना अदित तेश्रो भए। १८ वर्षमाथि महिला टिममा भारत पहिलो र नेपाल दोश्रो भए।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, आयोजक संघका अध्यक्ष प्रा. डा. सूर्यबहादुर कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। दुई प्रतियोगितामा नेपालबाट ७६, भारतबाट ७० र बंगलादेशबाट १७ प्रतिस्पर्धीले विभिन्न उमेरसमूहमा प्रतिस्पर्धा गरेका थिए।
 

Leave a Comment