you-price-design.jpg

बच्चालाई पनि कब्जियतको खतरा -कसरी रोक्ने ?

  • २०७४ बैशाख २४ गते , आईतवार प्रकाशित

आजभोलि धेरै अभिभावकहरु आफ्ना साना नानीलाई दिसा गर्दा कन्ने, साह्रो हुने, धेरै दिनसम्म दिसा नहुने वा गर्न नमान्ने जस्ता समस्या भएको बताउनुहुन्छ। यी सबै कब्जियतका लक्षण हुन्। पेट दुख्ने, फुल्ने, उल्टी हुने, खाना खान नमान्ने, दिसामा रगत मिसिने, पिसाबको संक्रमण हुने जस्ता थप समस्याहरुको कारक पनि कब्जियत हुने गरेको देखिन्छ। कतिपयलाई बच्चालाई पनि कब्जियत हुन्छ र? भन्ने लाग्छ होला। तर यो धेरै नै देखिने समस्या हो। एकदेखि पाँच वर्षका बच्चामा सयमा तीनदेखि चार जनामा कब्जियत देखिने गरेको छ। यीमध्ये पन्चानब्बे प्रतिशत बच्चाहरुमा शारिरीक रोगको कारणले नभई खानपान वा आनीबानीको समस्याले कब्जियत हुन्छ। बाँकि पाचँ प्रतिशतमा मात्र कुनै रोग, औषधिको असर आदिले कब्जियत भएको पाइन्छ। बच्चाको खानपानमा परिवर्तन हुँदा, खानेकुरामा पर्याप्त मात्रामा फाइबर नहुँदा वा आवश्यक मात्रामा पानी नापिउँदा कब्जियत हुन्छ। धेरै समय टेलिभिजन, भिडियो गेम आदिमा बिताउने र धेरैजसो बजारमा पाइने तयारी खाना खाने बच्चाहरु कब्जियतको शिकार बनेका छन्। बच्चाहरु विभिन्न कारणले दिसा रोकेर राख्छन्, जुन अन्तत्वगत्वा कब्जियतको कारण बन्न सक्छ। भर्खरै स्कुल जान थालेका बच्चाहरुले उसको शौचको दैनिकी, शौचालय वा कोपरा र दिसा गराउने मान्छे फेरिएको कारणले दिसा रोकेर राख्नसक्छ। कहिलेकाही त मन परेको कुरा गर्न वा खेल्न छोड्नु पर्छ भनेर पनि दिसा रोकेर राख्छन्। अलि ठूलो उमेरका बच्चाले स्कुल वा घर बाहिर कुनै ठाउँमा जादा सार्बजानिक शौचालय प्रयोग गर्न मन नपराएर पनि दिसा रोक्नसक्छ। कास लागेर वा अरु कारणले दिसा गर्दा दुख्छ वा कुनै खालको तनाब भएको छ भने बच्चाले दिसा नगर्न अनेक बहाना बनाउन थाल्छ। जति धेरै समय दिसा सानो आन्द्रामा बस्छ, तेतिनै सुख्खा, कडा र ठूलो आकारको हुन्छ। क्रमश: दिसा निस्कन गाह्रो हुने र दुख्ने हुन्छ। यसले गर्दा दिसा रोकेर राख्ने र कब्जियत झन् बढ्ने चक्र चलिरहन्छ। ख्याल गर्नु पर्ने कुरा के हो भने बच्चामा केही लक्षणहरु कब्जियतका गम्भीर कारण वा अन्य कुनै जटिल बिमारले देखिएका हुन सक्छन्। यदि पेट डम्म फुलेको छ, एकदमै दुखेको छ वा तारन्तार उल्टी गरिरहेको छ भने धेरै दिनसम्म दिसा नगर्नुको कारण गम्भीर हुनसक्छ। शिशुहरु धेरै झिजिने वा रुने र दस मिनेट भन्दा लामो समय कन्दा समेत दिसा नआउने भनेको नराम्रो संकेत हो। बच्चाको तौल नबढ्नु वा घट्नु र विभिन्न अंगमा समस्या हुदा देखिने लक्षणहरु कुनै दीर्घ रोगको संकेत हुनसक्छन्। डा दिनेश धरेल पूर्णतया स्तनपान गरिरहेका शिशुहरुमा सितिमिति कब्जियत हुँदैन। आमाको दुध राम्ररी पच्ने भएकोले केही शिशुले धेरै दिनसम्म दिसा नभएर त्यसपछि राम्रो दिसा गर्ने हुनसक्छ। शिशुलाई सुतेर दिसा निकाल्न धेरै मेहनत गर्नुपर्ने हुन्छ जसले गर्दा दिसा गर्ने बेलामा गाला रातो हुनेगरी कन्नु पनि कब्जियत नभई सामान्य कुरा हुनसक्छ। थप आहार खाना सुरु गरेपछि शिशुको खानामा थप पानी वा झोलिलो कुरा र क्रमश: फाइबर भएको खानेकुरा दिन थाल्नुपर्छ। खानपानमा सुधार हुने बित्तिकै कब्जियत भएका अधिकांश बच्चामा दिसा राम्रो हुनथाल्छ। दुईदेखि उन्नाईस बर्षको बीचमा उसको उमेरमा पाँच थप्दा जति हुन्छ, त्यति ग्राम फाइबर खान सिफारिस गरिएको छ। तरकारी, फलफुल, आँटा लगायत खस्रो अन्नबाट बनेका खानेकुरामा फाइबर धेरै हुन्छ। चाउचाउ, कुरकुरे, लेज, बिस्कुट लगायत मैदाबाट बनेका खानेकुरामा फाइबर थोरै हुन्छ। कब्जियत हुन नदिने वा कम गर्ने अर्को महत्वपूर्ण तरिका भनेको बच्चालाई सक्रिय राख्नु हो। स्वस्थ र सन्तुलित खानेकुरासंग स्वस्थ जीवनशैली र दिनचर्या सानै उमेरदेखि बिकास गर्नु कब्जियत कम गर्ने उत्तम विकल्प हुन्। कहिलेकाँही कब्जियत भएको बच्चामा औषधि पनि प्रयोग गरिन्छ। तर यो अन्तिम अस्त्र हो र सकेसम्म प्रयोग गर्न हुँदैन। प्रशस्त मात्रामा पानी र फाइबरयुक्त खाना खुवाउँदा समेत कब्जियत ठीक नभई दिसामा रगत नै आउन थाल्यो, उल्टी हुने, साह्रोसंग पेट दुख्ने जस्ता समस्या देखियो भने उमेर अनुसार दिसा पातलो गर्ने औषधि खुवाउन वा मलद्वारमा औषधि राखेर दिसा निकाल्न सकिन्छ। डाक्टरको सल्लाह बिना यस्तो औषधि प्रयोग गर्दा जोखिम हुने भएकाले निर्धारित मात्रा र अबधिसम्म मात्र दिनुपर्छ। कब्जियतको दीर्घकालिन समाधानको लागि भने कारणको उपचार गर्नुपर्छ। हरेक बच्चाको दिसा गर्ने दैनिकी, आनीबानी र दिसाको प्रकृति फरक हुन्छ। यदि तपाईंले आफ्नो बच्चाको लागि के नियमित हो भन्ने ख्याल गर्न सक्नु भयो भने फरक आएको कुरा पत्ता लगाउन र समयमा सुधार गर्न समेत सक्नुहुन्छ। आफ्नो बच्चालाई जंक फुड नदिने र घरमै बनाएर सन्तुलित तथा फाइबर प्रशस्त हुने खानेकुरा खुवाउने हो भने कब्जियतको समस्या धेरै कम हुन्छ। त्येसैले कब्जियतको उपचारमा स्वास्थ्यकर्मी सहयोगी मात्र हुन्, मुख्य कर्ता भनेको आमाबुबा वा हेरचाह गर्ने व्यक्ति नै हुन्छन्।   (बालरोग बिशषज्ञ डा दिनेश धरेल धरानस्थित बि पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानका उप-प्राध्यापक हुन्  तपाईंलाई आफ्नो बच्चाको स्वास्थ्य र स्याहार सम्बन्धी कुनै पनि जिज्ञाशा वा प्रश्न भएमा [email protected] मा इमेल पठाउन सक्नु हुनेछ।) 
सेतोपाटि 

Leave a Comment