you-price-design.jpg

नवराज लम्सालको दोस्रो महाकाव्य ‘धरा’ सार्वजनिक

  • २०७४ बैशाख २१ गते , विहीवार प्रकाशित

कवि, सञ्चारकर्मी तथा गीतकार नवराज लम्सालको दोस्रो महाकाव्य ‘धरा’ सार्वजनिक भएको छ। २६ सर्गमा विस्तारित यस पुस्तकलाई कविद्वय तुलसी दिवस र भुवन ढुङ्गाना, संस्कृतिविद् जगमान गुरुङ तथा समालोचक डा. गोविन्दराज भट्टराईले संयुक्त रुपमा यसै साता सार्वजनिक गरे। पुस्तक सार्वजनिकिकरण समारोहमा लम्सालका बाआमाको समेत उपस्थिति थियो।   पुस्तकमाथि मन्तव्य राख्दै समालोचक महेश पौड्यालले गणतन्त्रको घोषणापछि राष्ट्रिय योजकहरु क्रमशः कमजोर हुँदै गरेको समयमा लम्सालको ‘धरा’ले सम्पूर्ण देशलाई जोड्ने काव्यसूत्र प्रस्तुत गरेको बताए। उनले धराले नेपाली पहिचानका सम्पूर्ण मानविन्दुहरुसहित सभ्यता, दर्शन र संस्कृतिलाई काव्यमा उतारेको टिप्पणी गरे। 
  तुलसी दिवसले लम्सालको काव्यसाधनाको तारिफ गर्दै धराले सम्पूर्ण देशको पहिचानलाई काव्यिक अनुमोदन गरेको टिप्पणी गरे।   समालोचक गोविन्दराज भट्टराईले नवराज लम्साल राष्ट्रकवि माधव घिमिरेको बलियो उत्तराधिकारी भएको बताए।    आफ्नो लयात्मक शैलीमा पुस्तकभित्रका कविता वाचन गर्दै कवि लम्सालले आफूले दस वर्षदेखि गरेको साधनाको मूर्त रुप धरा भएको बताउँदै आफूले देखेको नेपालको चित्रण यस पुस्तकमा भएको दाबी गरे। व्यक्ति र राष्ट्रको पहिचान पृथक नभई एकै हो भन्ने दाबी गर्दै लम्सालले यही सत्य स्थापित गर्न धरा लेखेको बताए।    धरामा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल तथा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली, डा.बाबुराम भट्टराई तथा लोकेन्द्रबहादुर चन्दले लिखित टिप्पणी दिएका छन्।

Leave a Comment