you-price-design.jpg

कसरी हुन्छ मिर्गौलामा पत्थरी ?

  • २०७४ बैशाख २० गते , बुधवार प्रकाशित

 डा. भरत भण्डारी काठमाडौँ । मिर्गौलाको मुख्य काम रगतलाई फिल्टर गरी सफा गर्ने र विकार वस्तुलाई पिसाबबाट बाहिर फ्याँक्ने हो । यो क्रममा यदि फिल्टर भएको वस्तुको मात्रा बढ्न गए वा फिल्टर भएर गैसकेपछि पिसाबको वहाबमा कुनै किसिमको अवरोध आएमा वा शरीरभित्रको मेटावोलिजममा समस्या भएमा पत्थरी हुन सक्छ। कतिपय अवस्थामा पत्थरीको समस्या जन्मजात पनि हुन्छ । वंशाणुगत युरिक एसिड र अक्जालेटको मेटाबोलिजममा गडबड भयो भने पनि मिर्गौैलामा पत्थरी हुने सम्भावना बढी हुन्छ । जन्मजात समस्या भएकामा शरीरले खाएको तत्वबाट निस्कने विकार वस्तुको मात्रा धेरै हुन्छ र पत्थरी बन्न जान्छ । संक्रमणका कारण क्षयरोग भयो भने मिर्गौलामा पत्थरी बन्ने प्रकृया सुरु हुन्छ । साना साना कण जम्मा भएर पिसाबमा भएको नुनको तत्व जम्मा भएर ढुङ्गा बन्न थाल्छ ।

यसबाहेक हाम्रो खानपानको प्रकृयाबाट पनि पत्थरी हुन सक्छ । बदाम, गेडागुडी, गोलभेँडाजस्ता खानेकुराका कारण युरिक एसिड पत्थरी हुन्छ । साधारणतया मिर्गौलामा क्याल्सियम, अक्जालेट र युरिक एसिड पत्थरी भएको पाईन्छ । क्याल्सियम, फस्फोरसजस्ता तत्वहरु मानिसलाई आवश्यक भएपनि पत्थरी बन्ने प्रवृत्तिका कारण यिनले शरीरलाई नकारात्मक प्रभाव पार्छन् । हामीले दैनिक खाएको खानाबाट नै पत्थरी बनिरहेको हुन सक्छ । ढुङ्गा खाएर नै पत्थरी हुने होइन । धेरै बिरामीले ढुङ्गा खाएर नै पत्थरी बनेको भनेर सोच्ने गरेको पाईन्छ तर यसो होइन । हामीले खाएको खाना पचिसकेपछि उत्पन्न हुने बाइप्रोडक्ट के निस्कन्छ, त्यसको घनत्व हेरी ढुङ्गा बन्न सक्छ । प्राय बिरामीले के खाँदा पत्थरी हुन्छ भन्ने प्रश्न गरेको पाईन्छ । हामीले खाएको सबै खानेकुराबाट पत्थरी बन्ने संभावना हुन्छ । पत्थरी नहोस् भन्नका लागि के–कस्तो गडबडी छ भन्ने कुरा पहिला थाहा पाउन जरुरी छ । जस्तै क्याल्सियमको कारण पत्थरी भएको छ भने क्याल्सियमजन्य तत्व कम गर्नु पर्छ । क्याल्सियमको मात्रा, युरिक एसिड, फस्फोरस, अक्जालेट, थाईराइड, प्याराथाइराइडको अवस्था कस्तो छ कारण हेरेर मात्र त्यो अनुसारको खानामा परहेज गर्नुपर्छ । मलाई पत्थरी भयो भनेर खाना बार्ने होइन ।

पत्थरी हुनका लागि सबभन्दा निरोधक भनेको नियमित पानी पिउनु नै हो । तर पानी पिउने भन्दैमा एकैपटक धेरै होईन प्रत्येक घण्टामा थोरै थोरै गरी पिउनु पर्छ । दिनमा एक गिलास कागती पानी पिउन सकेमा पनि पत्थरी हुनबाट बच्न सकिन्छ ।
लक्षणहरु स् .दाँया बाँया कोखा दुख्नु
.कोखाको दुखाई जाँघतिर सर्नु
.छिटो छिटो पिसाब लाग्नु
.पिसाबले पोलेको जसतो हुनु
.पिसाब बाक्लो तथा रातो हुनु
.ज्वरो आउने
.बान्ता आउला जस्तो हुने
.पिसाबमा रगत देखिने
.जोर्नी दुख्ने
यी लक्षण नदेखिएमा पनि पत्थरी हुनसक्छ । सामान्य व्यक्तिलाई सिटी स्क्यान गर्दा पनि पत्थरी भएको भेटिन्छ । पत्थरी भएर शरीरभित्र असर गरिरहेको हुन्छ तर बाहिरी रुपमा कहिलेकाँही थाहा हुदैन । पत्थरी भएको सामान्य पिसाब र अल्ट्रासाउण्ड जाँच गरेर थाहा पाउन सकिन्छ । भिडियो एक्सरे गर्दा पानी टन्न खाएर पिसाबको थैली भरिएको अवस्थामा गर्नु राम्रो हुन्छ । भिडियो एक्सरेबाट मात्र सतप्रतिशत पत्थरी छुुट्टाउन सकिन्छ भन्ने छैन । लक्षणअनुसार सिटी स्क्यान पनि गर्नुपर्ने हुन्छ । तर यो महङ्गो प्रविधि भएको हुँदा सबैको पहुँच नहुन पनि सक्छ । उपचार :
साधारणतया ५ मिलिमिटर अर्थात् मासको दाना आकारको पत्थर छ भने पानी तथा झोलपदार्थ बढी सेवन गर्दा र नियमित अभ्यास गर्दा आफै निस्कन सक्छ । तर पत्थर मिर्गौलाको कुन कोठामा बसेको छ, प्रकृति कस्तो छ, निस्कने बाटो कस्तो छ त्यसमा भर पर्छ । यसरी निस्केको पत्थरलाई प्रयोगशालामा जाँच गरी कुन प्रकारको हो पहिचान गर्नुपर्छ । पत्थरी भैसकेपछि सबैभन्दा पहिला त्यसले गरेको असरमै ध्यान दिनुपर्छ । त्यसले मिर्गौलालाई असर गरेको छ भने इमरजेन्सी उपचार गर्नुपर्ने हुन्छ किनभने त्यसले मिर्गौलालाई कालान्तरमा काम नगर्ने बनाउन सक्छ । यदि मिर्गौलालाई असर गरेको छैन भने, तल्लो कोठामा बसेको छ छने, केही समय कुरेर पनि उपचार गर्न सकिन्छ । पत्थरको प्रकृति हेरेर विभिन्न उपचार प्रकृया अपनाउनुपर्छ । सामान्य २ सेन्टिमिटरसम्मको पत्थरलाई २ देखि ३ सेसनमा बाहिरबाट एउटा रेजले फुटाएर धरलो पारी ९लिथोट्रप्स० निकाल्न सकिन्छ । यसका लागि बिरामीलाई बेहोस नपारी २ घण्टामा निकालिन्छ । यो प्रकृयाबाट पत्थर फुट्छ भन्ने ग्यारेन्टी हुँदैन । फुटिसकेपछि पनि दुख्ने, पिसाबमा रगत जाने हुन्छ । उच्च रक्तचाप, रगत जाने समस्यामा वा मिर्गौला अन्यत्र बसेको अवस्थामा यो विधि अपनाउन सकिदैन । २ सेन्टिमिटरभन्दा ठूलो पत्थरी भएमा पिसीएनएल प्रविधि अपनाउन सकिन्छ । मिर्गौलाको पत्थरीलाई फोकस गरेर एउटा सानो सुइरोले सानो प्वाल पारेर विस्तारै ठूलो बनाउदै कलम छिर्ने प्वाल बनाइ त्यसबाट मेसीनभित्र छिराइ पत्थरलाई टुक्रा पारी वास गरि बाहिर निकालिन्छ । यो प्रविधिद्वारा पत्थर पूर्णरुपमा बाहिर निकालिन्छ ।
त्यसै गरि मुत्र नलीबाट गएर मिर्गौलाको पत्थरलाई लेजरले धुलो बनाई निकाल्न सकिन्छ । यो मझौला खालको पत्थरीका लागि बढी प्रभावकारी मानिन्छ । तर, यो प्रविधि महंगो त छँदैंछ, इन्फेक्सन हुने संभावना पनि हुन्छ । पत्थरी निकालियो अब म ठिक छु भनेर बस्नु हुँदैन । यसरी निकालिएको पत्थरी जाँच गरि कुन प्रकारको हो पहिचान गरि त्यसैअनुसार खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । खानपानमा ध्यान दिन सकिएन भने पुनः पत्थरी बन्ने सम्भावना हुन्छ ।

Leave a Comment